कारागारबाट छुटेपछि पहिलोपटक सानेपा पुगे खाण

होमल्याण्ड खबर

२०८० पुष १३ गते, शुक्रबार १२:१३ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।

गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए । उक्त बैठकमा खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो।

कांग्रेस संस्थापन पक्षले अडानले खाँणको निलम्बन रोकिएको थियो। बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाण सहभागी भएका छन्।

जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटी राखेर उनी केन्द्रीय कारागारबाट मुक्त छुटेका थिए।