प्रदर्शनकारीले छिनभरमै यसरी ध्वस्त पारे मन्त्री ज्वालाकाे गाडी (तस्बिरहरू)

होमल्याण्ड खबर

२०८० पुष १३ गते, शुक्रबार १४:०१ मा प्रकाशित

काठमाडौं। ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। उनी सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाउन परेकाे छ। प्रहरीले चलाएकाे गोलीबाट एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले जानकारी दिए।

कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनकारीले मन्त्रीकाे गाडी जलाएका हुन्।

पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका मन्त्रीलाई छाडेर फर्किँदै गरेको गाडीमा आगजनी भएको ह । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन ज्वाला पुगेका थिए ।  आफूलाई बैठकस्थलमा छोडेर गाडी सिंहदरबार फर्किनेक्रममा आगजनी भएको ज्वालाले बताए।

अग्नि नियन्त्रकहरु पुगेर आगो निभाउने प्रयास गरेपनि क्षणभरमै गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले चक्रपथमा प्रदर्शन गरेका छन्। जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।