४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरेर कांग्रेस नेतृत्वको सरकार बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै शेखरले कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काएर केन्द्रदेखि वडासम्म एक्लै चुनाव लडे कांग्रेसको भविष्य रहेको दाबी गरे ।
उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने समेत बताए । कोइरालाले भने, ‘निर्वाचनअघि गठबन्धन हुने भए लोकतान्त्रिक शक्तिहरूसँग मात्रै हुन्छ । कम्युनिष्टहरूसँग हुँदैन । चुनावपछि जरुरत पर्छ जाऔं ।’
शेखरले युवाहरूमा बढ्दो महत्वाकांक्षा भएको भन्दै राजनीति गर्नेहरूसँग संस्कार र नैतिकता नभएकाले अहिलेको अवस्था आएको बताए ।
कोइरालाले भने, ‘देश र कांग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैंमा रमाइरहेका छौं । हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हुर्नुहोस् त ?’
शेखरले अहिलेको अवस्थामा पार्टी चले पार्टीको अस्तित्व समेत संकटमा पर्नसक्ने आशंका गरेका छन् ।