गाउँमा पुगेको सुविधाकाे उपभोग गर्ने कोही नहुने हुन् कि भन्ने चिन्ता छ : राष्ट्रपति पौडेल

होमल्याण्ड खबर

२०८० पुष २० गते, शुक्रबार १४:३८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताएका छन् ।शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने अवस्था रहेको गुनासो गरे।

उनले भने, ‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौँ  तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ ।

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गरे। उनले भने, ‘‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ। यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर गएर उतै बस्नुभयो । गाउँको समस्या यही हो ।’

राष्ट्रपति पौडेलले आफूले पहिलो चोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर “गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु’’ भनेको स्मरण गरे। आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए।