आरतीको भिडियो खिचे कारबाही गर्ने बुढासुब्बाकाे सूचनाप्रति कोषले जनायाे आपत्ति

होमल्याण्ड खबर

२०८० पुष २० गते, शुक्रबार १५:४९ मा प्रकाशित

आरतीको भिडियो खिच्न नपाउने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ। विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज (शुक्रवार) एक सूचना प्रकाशित गर्दै बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

‘सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सूचनामा कोषको लोगोको दुरुपयोग भएको समेत कोषले दाबी गरेको छ। उक्त प्रक्रियाप्रति कोषले असहमति जनाएको छ। बुढासुब्बा डिजिटल प्रालिले आफूहरूको सहमतिबिना नै कोषको लोगो प्रयोग गरेको कोषले आरोप लगाएको छ।

बूढासुब्बा डिजिटल प्रालिले भने केही समय अघि सूचना जारी गर्दै श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरिएको भन्दै सूचना जारी गरेको थियो। ‘यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं,’सूचनामा भनिएको थियो।

उक्त सूचना भने तीन महिना अघि नै जारी गरिएको पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव राजुकुमार खत्रीको भनाइ छ। बिहीबारदेखि उक्त सूचना समाजिक सञ्जालमा भाइरल बनेको उनको भनाइ छ। सूचनाका विषयमा कोषको गम्भीर ध्यानाकर्षण भएको र त्यस विषयमा कानुनी परामर्श गरिएको खत्रीले बताए।