४ मंसिर २०८१, मंगलवार
सत्तारुढ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रियसभाको चुनावमा सीट भाग नलाउने भएको छ । गठबन्धनभित्रकै पार्टीहरुलाई चित्त बुझाउन नसकिरहेको अवस्थामा राप्रपाले भाग पाउने सम्भावना देखिएको हो ।
हिजो बसेको राप्रपा बैठकले राष्ट्रियसभा चुनावमा सत्तारुढ गठबन्धनसँग तालमेल प्रयास गर्ने निर्णय लिएको थियो । गठबन्धनले एक सीटमा राप्रपालाई सघाएमा अन्य सीटमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने राप्रपाको रणनीति थियो ।
यसका लागि गठबन्धन नेताहरूसँग वार्ता गर्ने जिम्मा कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ । तर, तामाङले पहल गर्न नपाउँदै च्याप्टर क्लोज भएको हो । हिजो बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले राप्रपालाई समेट्ने सम्भावना नरहेको बताए ।
उनले भने, ‘धेरै ढिला भइसक्यो । त्यो सम्भावना अब छैन ।’
आपसी भागबन्डा मिलाउन अहिले बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । हिजो असन्तुष्टि भएर निस्किएका माधव नेपाललाई मनाउने प्रयासमा कांग्रेस र एमाले छन् ।
नेकपा एसले ३ सीट मागेकोमा दुई सीटमात्र पाउने भएपछि नेपाल रिसाएर हिँडेका थिए । आज बिहानैदेखि कांग्रेस, माओवादी, नेकपा एस र जसपाको वैठक बसेको थियो । अहिले बैठकबाट जसपा अध्यक्ष उपेन्द्र यादव पनि हिँडेका छन् । तीन दलको बैठक भने बसिरहेको छ ।
कांग्रेस र माओवादीले आपसमा १० र ६ सीट बाँड्ने सहमति गरेका छन् । जसमध्ये कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेस, माओवादी र जसपाबीच सीट बाँडफाँट भएको हो । नेकपा एसलाई गण्डकी र बागतीमा दुई सीट दिने तयारी छ ।