रास्वपाले २७ वटा आयोजनामा दबाब कार्यक्रम गर्ने

होमल्याण्ड खबर

२०८० माघ ४ गते, बिहीबार ११:०९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७ वटा आयोजनामा दबाब यात्रा गर्ने भएको छ । बुधराति अबेर सकिएको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका ती आयोजनाहरु केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले ती आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् ।
दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यस्तै, रहरा र मेलम्ची खानेपानी आयोजना लगायत रहेका छन् ।

विभिन्न मितिमा ठेक्का लागेर पनि निर्माण सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको रास्वपाले जनाएको छ । यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ–बुटवल सडकखण्डमा पदयात्रा गरेका थिए ।

रास्वपाका उपसभापति डीपी अर्यालका अनु्सार पटक–पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने पार्टीको उद्देश्य हो ।

दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने जनाइएको छ । यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए ।