६ चैत्र २०८२, शुक्रबार
राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट व्यापारी नरेश अग्रवाललाई नगद दुई करोडसहित पक्राउ गरेको छ । विभागले गएराति अग्रवालको घरमा छापा मारेर नगदसहित पक्राउ गरेको हो ।
साथै, अग्रवालसहित अन्य २ जनालाई पनि नियन्त्रणमा लिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका अन्य दुई सहयोगी हुन् । बरामद रकम अझै गनिरहेका उनले बताए ।


उनका अनुसार बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा समेत अग्रवाल संलग्न रहेको विभागलाई सूचना थियो ।
अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् । पक्राउ परेका तीनै जनालाई विभागको कार्यालयमा राखिएका छन् । उनीहरुमाथि थप अनुसन्धान गरेर मात्र वास्तविकता खुल्ने विभागले जनाएको छ ।