९ मंसिर २०८१, आईतवार
नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।
नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।
२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू-१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ ।
दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । नेपालले खेल्ने आजको बफेलो पार्कमा पाकिस्तान र अफगानिस्तानसँगको खेलमा पनि तीव्र गतिका बलर हाबी बनेका थिए । नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी-२० आई खेल खेलेका छन् ।
भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार हुन् ।
यता ब्याटिङमा देव खनाल, अर्जुन कुमाल र गुलशन झा प्रमुख हतियार हुन् । कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडीआई खेल खेलिसकेका छन् ।
यू-१९ मा पछिल्लो एक वर्षमा देवले तीन र अर्जुनले दुई शतक हानेका छन् । टोलीका सबैभन्दा भरपर्दा यी दुई ब्याटरबाट नेपाल आज ठूलो इनिङ चाहन्छ ।
उता न्युजिल्यान्डले वार्मअप खेलमा स्कटल्यान्डलाई १३० रनले हराएको थियो । वेस्टइन्डिजसँग ६ विकेटले हारेको थियो । स्कटल्यान्डविरुद्ध कप्तान ओस्करले ९७ बलमा ८ चौका र ६ चौकासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए । ओस्करसँगै टम जोन्स प्रमुख ब्याटर हुन् ।
लेग स्पिनर ज्याक कमिङ आगामी दिनमा न्युजिल्यान्डको भविष्य भन्ने गरिएको छ । कमिङविरुद्ध खेल्दा ध्यान दिन आवश्यक देखिन्छ । तीव्र गतिका बलर म्याट रवे बलिङका हतियार हुन् ।
प्रशिक्षक जगत टमाटाले दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि पहिलो खेल सधैं महत्वपूर्ण हुने बताएका छन् । ‘न्युजिल्याण्ड विरुद्धको पहिलो खेल हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । यहीबाट हाम्रो लय सेट गर्नुपर्छ । हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिनेछौं ।’
उनले पाकिस्तान र अफगानिस्तानसँग यू-१९ एसिया कपमा पनि खेलिसकेकोले उनीहरुबारे जानकारी रहेको बताए । यसअघि दुई पटक मात्र समूह चरण पार गरेको नेपालले ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गर्दा फेरि समूह चरण पार गर्ने लक्ष्य राखेको छ ।