माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन, २२ जना पक्राउ

होमल्याण्ड खबर

२०८० माघ ७ गते, आईतवार १४:०७ मा प्रकाशित

सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन गरेको छ।

आइतबार बिहान थापाथली क्याम्पस नजिकै भेला भएर नेविसंघको काठमाडौँ जिल्ला कार्यसमितिले माइतीघरमा निषेधित क्षेत्र हटाउनुपर्ने भन्दै प्रदर्शन गरेको हो।

निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ लगायतका प्लेकार्ड बोकेका थिए। विरोध प्रदर्शन गर्नेक्रममा २२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नेविसंघकै माउ पार्टी कांग्रेस पनि सहभागी छ।

माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि निषेधाज्ञा हटाउनुपर्ने माग गर्दै विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्।विरोध प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ।