३ मंसिर २०८१, सोमबार
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिसँग आज बिहान भएको बैठकमा संसदको क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुखले समितिबाट विधेयक छिटोभन्दा छिटो आए सदन चलाउन सजिलो हुने बताएको जानकारी दिए।
खतिवडाले माघ १८ गतेदेखि २० सम्ममा संसद अधिवेशन सुचारु हुने सम्भावना रहेको बताए।‘ माघ १८ गतेदेखि २० सम्ममा संसद चल्न सक्ने सम्भावना छ। त्यसैले सभामुखले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी लिए। विधेयक समितिबाट छिटो आए सदन चल्न सजिलो हुन्थ्यो भन्ने कुरा भयो।’उनले भने, ‘संसदलाई नयाँ रुप दिन संसदको क्यालेण्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ भन्नेबारे पनि छलफल भयो।’
उनले भने,‘सत्तामा हुँदा विधेयकलाई एउटा पक्षले हेर्ने र प्रतिपक्षमा हुँदा अर्को आँखाले हेर्ने प्रवृति विकास भएको छ। कतिपय विधेयकको विषयलाई हाई लेभलमा छलफल हुनु आवश्यक छ।’
दलहरुबीच कुरा नमिल्दा समितिमा संवैधानिक परिषद्, टीआरसी, विद्यालय शिक्षालगायतका विधेयकहरू अड्किएर बसेका छन्।