धानको समर्थन मूल्य तोक्न ढिलाइले सस्तोमा बिक्री गर्न बाध्य

होमल्याण्ड खबर

२०७५ कार्तिक २६ गते, सोमबार १३:४६ मा प्रकाशित

सरकारले कात्तिक महिनाको अन्तिम समय आइसक्दा पनि हालसम्म धानको समर्थन मूल्य तोकेको छैन । धान पाकेर किसानका घर आँगनमा पुगिसके पनि समर्थन मूल्य नतोकिँदा सस्तोमा धान बिक्री गर्नु परिरहेको बाँके र बर्दियाका किसानहरूको भनाइ छ ।

समर्थन मूल्य नतोकिंदा धानको अन्न भण्डार मानिने बाँके र बर्दियाका धान उत्पादक किसानले बाध्य भएर सस्तोमा ब्यापारीलाइ धान बिक्री गरिरहेको जनाएका छन् ।

बाँकेको सबैभन्दा बढी धान उत्पादन हुने नौबस्ता, महादेवपुरी र राप्तीसोनारी लगायतका क्षेत्रमा ७० प्रतिशत भन्दा बढी र बर्दियाको सबैभन्दा बढी धान उत्पादन हुने राजापुरमा करिब ६५ प्रतिशत किसानले धान भित्रयाइसकेका छन् । तर, सरकारले हालसम्म पनि समर्थन मूल्य नतोक्दा उनिहरूबाट ब्यापारीले निकै कम दरमा धान खरिद गरिरहेका छन् । आवश्यक परेको किसानले सस्तोमै बिक्रि गरिरहेका छन् ।

नेपाल खाद्य संस्थानले मूल्य कायम नगरेकाले धान सस्तोमा बेच्न बाध्य भएको जनाउँदै बाँके नौबस्ताका किसान दिलराम थारुले तत्काल समर्थन मूल्य घोषणा गर्न माग गरेका छन् । असोज महिनाको अन्तिम सातासम्ममा मूल्य तोकिसक्नु पर्नेमा हालसम्म पनि मूल्य कायम गर्न नसक्दा किसानले बाध्य भइ सस्तोमा व्यवसायीलाइ धान बेचबिखन गर्दै आएको थारुले बताए ।

यस्तै बर्दियाको राजापुर नगरपालिका २ का किसान भुवनेश्वर थारुले पनि मूल्य नतोकिंदा धेरै किसानले सस्तोमा बिक्री गरिरहेको जनाएका छन् । राजापुरमा रहेको खाद्य संस्थान अन्तर्गतको आधुनिक धान चामल कारखानाले धान खरिद गर्दै आएको छ । तर तीन वर्षयता सरकारले धानको समर्थन मूल्य समयमा कायम नगरेका कारण सो क्षेत्रका किसान मर्कामा परिरहेको थारुले बताए ।

बर्दियाको राजापुर, पाताभार, मानपुरटपरालगायत बजारमा मकवानपुरे जातको धान २ हजारदेखि २ हजार १ सय रुपैयाँ प्रतिक्विन्टलसम्म खरिदबिक्री भइरहेको उद्योग वाणिज्य संघ बर्दियाका पूर्व अध्यक्ष रामकुमार वैश्यले जनाए । मोटो धान १ हजार ९ सय ५० रुपैयाँ प्रतिक्विन्टलमा खरिदबिक्री भइरहेको उनले बताए ।
गत वर्ष मोटो २ हजार, मकवानपुर (मध्यम) २ हजार २ सय र मसिनो २ हजार ३ सय रुपैयाँ प्रतिक्विन्टलसम्म खरिदबिक्री भएको व्यवसायीको भनाइ छ । मकवानपुर जातको धान किसानले दाउने काम करिब करिब पुरा भएको छ । तिहारअघि नै बाँके र बर्दियामा आधा भन्दा बढी धान भित्रयाइ सकिएको स्थानीय किसानको भनाइ छ ।

छिमेकी मुलुक भारतमा असारमा धानको प्रस्तावित मूल्य कायम गरेजस्तै नेपालमा पनि गर्नुपर्ने बाँके कोहलपुरका किसान अगुवा भानुभक्त ढकालले माग गरेका छन् ।

खाद्य संस्थानको केन्द्रीय कार्यालयले नै धानको मूल्य तोक्नुपर्ने भएकाले स्थानीय स्तरबाट आफूहरूले केही गर्न नसक्ने खाद्य संस्थान राजापुरका प्रमुख अनिल श्रेष्ठले जनाए ।