बाग्लुङमा राष्ट्रिय कराते हुने

होमल्याण्ड खबर

२०७५ कार्तिक २६ गते, सोमबार १६:२६ मा प्रकाशित

बाग्लुङमा मंसिर पहिलो साता प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप प्रतियोगिता हुने भएको छ ।

बडिगाड डोजोले नेपाल सितोरियो कराते संघ र नेपाल कराते महासंघसँगको सहकार्यमा गर्न लागेको प्रतियोगिता मंसिर १ देखि ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बलका साथै सात प्रदेशका गरी १० टोलीका २ सय हाराहारीका खेलाडीले विभिन्न १७ इभेन्ट्समा प्रतिस्पर्धा गर्ने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ केजीमाथि गरी कुल सात तथा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीमाथि गरी ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिला र पुरुष दुवैतर्फ एकल र टिम कातामा पनि प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएको छ ।