पूर्व मन्त्री पौडेलको दुर्घटनामा मृत्यु

होमल्याण्ड खबर

२०८० माघ १७ गते, बुधबार १६:३७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको बसको ठक्करबाट ज्यान गएको छ। नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार पूर्व मन्त्री पौडेलको ज्यान गएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए।

पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिएको हो। भरतपुर महानगरपालिका १७ विजयनगरका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए।

उनी कांग्रेसको महासमिति सदस्य हुन्। पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ। पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका छोरा विदेश रहेकोले अन्त्येष्टि भने गर्न बाँकी रहेको छ।