३ मंसिर २०८१, सोमबार
नेकपा माओवादी केन्द्रको विधान सम्मेलनको दोस्रो दिन आज विधान मस्यौदामाथि समूहमा छलफल जारी निष्कर्ष पेश गरिँदैछ। विधान मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ ।
मंगलबार नै समूहगत छलफल शुरु गरिएकोमा आज थप छलफल गरी निष्कर्ष पेश गर्ने महासचिव देव गुरुङले जानकारी दिए। उनका अनुसार समूहगत छलफलका लागि दिउँसो १ बजेसम्मको समय दिइएको छ। त्यसपछि बन्दसत्रस्थल प्रज्ञा भवनमा भेला भई निष्कर्ष पेश गर्ने कार्यक्रम छ ।
सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको छ। २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ।
तीन दिन सञ्चालन हुने सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी छन्। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन्।