३ मंसिर २०८१, सोमबार
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन् ।
पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
“हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौ”, पौडेलले भने, “यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौँ ।”
उनले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गरे । “हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं”, पौडेलले भने, “यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र संघर्ष गर्नु भएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ । उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ ।”
राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताए । उनले भने, “त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।”
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।