३ मंसिर २०८१, सोमबार
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई नेकपा एमालेसहित २ दलले विश्वासको मत नदिने तयारी गरेको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारलाई गठबन्धन बाहेकका दलले विश्वासको मत नदिने तयारी गरेको स्रोतले जनाएको छ ।
जनमत पार्टीले ९ माघमा सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएपछि विश्वासको मत लिने प्रावधान अनुसार मधेश प्रदेश सरकारले आज तेस्रो पटक विश्वासको मत लिन लागेको हो । एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने तयारी गरेको स्रोतको दाबी छ । जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पनि आफ्नो पार्टीले विश्वासको मतमा विपक्षमा उभिने बताए । उनका अनुसार जनमत पार्टी सरकारबाट बाहिरिएको हुनाले मुख्यमन्त्री सरोज यादवको सरकारलाई कुनै किसिमको समर्थन पार्टीको रहने छैन ।
उनले भने, ‘हामीले शुक्रवार नै बैठक गरेर यो बारेमा निर्णय लिइसकेका छौ, त्यो निर्णय बमोजिम हामी सरकारको विपक्षमा खडा हुनेछौ ।’ तेस्रो पटक लिन लागिएको विश्वासको मतमा अहिलेसम्म २ वटा दलले विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।
एमाले र जनमत पार्टीले विपक्षमा मतदान गर्दा पनि सरकारले पर्याप्त बहुमत पाउने प्रदेश सभाको अंक गणितीय हिसाब छ । मधेश प्रदेशमा सभामुखबाहेक एमालेको २३ र जनमत पार्टीको १३ सिट सङ्ख्या छ, जुन अहिलेसम्म विश्वासको मत नदिने सङ्ख्या हो ।
मधेश प्रदेश सरकारमा रहेका दलहरू कांग्रेस,जसपा,माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको प्रदेश सांसदबाटै मुख्यमन्त्री यादवलाई चाहिने बहुमतभन्दा बढी विश्वासको मत प्राप्त भइरहेको छ । सरकार चलाउन मुख्यमन्त्री यादवलाई कम्तीमा ५४ प्रदेश सांसदको समर्थनको आवश्यकता छ । यद्यपि सत्ता गठबन्धन दलबाटै मुख्यमन्त्रीले ६५ प्रदेश सांसदको समर्थन पाइरहेका छन् ।