३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताका विषयमा उत्पन्न विवाद मिलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विवाद मिलाइएको हो ।
महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा अहिले बैठकमा सहभागी गराउने निर्णय गरिएको छ ।
“१४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी योपटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुंग्याउनेछ,” बैठकको १ नम्बर निर्णयमा उल्लेख छ ।
महासमिति बैठकमा आमन्त्रण गरिने निर्वाचन क्षेत्र र जिल्लाहरू–
१. बारा क्षेत्र नम्बर–३
२. पर्सा क्षेत्र नम्बर–१
३. सोलुखुम्बु
४. खोटाङ
५. धादिङ क्षेत्र नम्बर–१
६. दोलखा
७. ओखलढुंगा
८. काठमाडौं क्षेत्र नम्बर–५
९. दाङ क्षेत्र नम्बर–३
१०. कञ्चनपुर क्षेत्र नम्बर–१
११. बागलुङ क्षेत्र नम्बर–२
१२. सिन्धुली क्षेत्र नम्बर–२
यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।