प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

होमल्याण्ड खबर

२०८० फाल्गुन १० गते, बिहीबार १४:४० मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा हुम्ला चंखेली गाउँपालिकाका तत्कालीन विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढाविरुद्ध मुद्दा दायर गरिएको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामामा उनीहरूले वास्तविक काम भएको भन्दा बढी मूल्यांकन गरेका छन् ।

त्यस्तै तत्कालीन उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडा ३ का अध्यक्ष शालिग्राम ऐडीविरूद्ध पनि मुद्दा दायर भएको हो।

उनीहरूले काम गरेभन्दा बढी काम भएको देखाएर बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी ११ लाख ९४ हजार ४ सय २६ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको प्रवक्ता घिमिरेले बताए।