क्यालेण्डर बनाएर काम गर्दै कानून समिति

होमल्याण्ड खबर

२०८० फाल्गुन ११ गते, शुक्रबार १४:३१ मा प्रकाशित

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताएकी हुन् । उनले संघीय संसदले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाएकाले समितिले पनि त्यसैअनुसार अघि बढ्न कुनै समस्या नहुने स्पष्ट पारिन् । सभापति सुदेवीले समितिले आफ्नो कार्यक्षेत्र भित्रका विविध विषयहरूमा पनि छलफललाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

विगतमा विधेयक केन्द्रित विषयहरूले मात्रै प्राथमिकता पाएको र अब भने कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि छलफललाई अघि बढाउने उनको प्रष्टिकरण थियो । बैठकमा समितिका सदस्यहरूले बैठकलाई निरन्तरता दिने काम समेत नगरेको भन्दै सभापति सुवेदीको आलोचना गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सभापति सुवेदी बैठकलाई निरन्तरता दिन डराईरहेको टिप्पणी समेत गरिन् ।

उनले समितिको बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि ध्यान दिन सभापति सुवेदीको ध्यानाकर्षण गराइन् । सांसद गौतमले कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि समितिमा छलफल चलाउने कुरामा पनि केन्द्रित हुन सभापति सुवेदीलाई दबाब दिए ।