३ मंसिर २०८१, सोमबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ । आगामी चैत दोस्रो साताबाट सुरु हुने राजधानी केन्द्रित आन्दोलनको तयारीस्वरुप आन्दोलन परिचालन समितिले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आन्दोलनलाई सशक्त ढङ्गले सञ्चालन गर्न प्रशिक्षण कार्यक्रम गर्न लागिएको र कार्यक्रममा देशभरबाट १०१ जना सहभागी रहने आन्दोलन परिचालन समितिका सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाको आन्दोलन परिचालन समितिको संयोजकमा भने महामन्त्री डा धवल शमशेर राणा रहेका छन् ।
प्रशिक्षणमा पार्टीको सैद्धान्तिक पक्षबारे पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, आन्दोलनको आवश्यकताबारे उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनको सम्पूर्ण प्राविधिक पक्षबारे महामन्त्री राणाले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउने पाठकको भनाइ छ ।
राजधानीमा हुन लागेको प्रशिक्षण कार्यक्रमपछि फागुन २३ गतेभित्र सबै जिल्लामा र २८ गतेभित्र वडा तहसम्म प्रशिक्षणको कार्यक्रम चल्ने बताइएको छ । सो लगत्तै आन्दोलनको विभिन्न कार्यक्रमहरू सार्वजनिक गरिने पाठकको भनाइ छ ।
राप्रपाले हिन्दु अधिराज्य, राजसंस्था र प्रदेश खारेजी लगायतका ४० बुँदे मागहरू यसअघि फागुन ९ मै प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।