राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीमार्फत नयाँ गठबन्धन अस्तित्वमा ल्याउने कांग्रेसको प्रयास

होमल्याण्ड खबर

२०८० फाल्गुन २७ गते, आईतवार ११:५८ मा प्रकाशित

गठबन्धन परिवर्तनसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीमार्फत नयाँ गठबन्धन अस्तित्वमा ल्याउने प्रयास थालेको छ ।

कांग्रेसले परिवर्तित परिस्थितिमा लोकतान्त्रिक गठबन्धनसँग छलफलका आधारमा मात्रै उम्मेदवार तय गर्ने रणनीति लिएको छ । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदका लागि २९ फागुनमा निर्वाचन हुँदै छ ।

सभापति शेरबहादुर देउवाले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार र रणनीतिबारे छलफल गरेका थिए ।

बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीका अनुसार गठबन्धनमा छलफलपछि मात्रै उम्मेदवार टुंगो लगाउने तयारी छ । प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस राष्ट्रिय सभामा दोस्रो दलको हैसियतमा छ ।

‘परिवर्तित परिस्थितिमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियत छ । प्रतिपक्षमा रहेका दलहरूबीचको एलायन्समा छलफल गरेर मात्रै उम्मेदवार तय गरेर जाने विषयमा छलफल भयो,’ केसीले  भने, ‘अब हामीनिकट दलहरूसँग छलफल गरेर मात्रै कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्ने निर्णयमा पुग्नेछौँ ।’