३ मंसिर २०८१, सोमबार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता घटक दल नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि आवश्यक पहल गर्ने अनौपचारिक निर्णय गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् ।
‘औपचारिक निर्णय गरिएन । तर मुख्यमन्त्री माओवादीले पाउनुपर्छ भन्ने दाबी हाम्रो छ,’ उनले भनिन्, ‘केन्द्रसँग निरन्तर संवाद भइरहेको छ । गण्डकी हामीले नै पाउने आश्वासन पाएका छौँ ।’
सोमबार नै गण्डकीको मुख्यमन्त्री एमालेले चारै वर्ष चलाउने सहमति भएको हल्ला बाहिरिएको छ । तर दलका नेता हरिबहादुर चुमानले अहिले माओवादीले नेतृत्व पाउनुपर्ने अडान राखेका छन् । माओवादीकै समर्थनमा २ कार्यकाल एमाले र २ कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गरिसकेको छ । ‘हामीले कांग्रेसलाई पनि सघायौँ, एमालेलाई पनि सघायौँ । अब त स्वाभाविक रूपमा माओवादीले नेतृत्व पाउनुपर्छ,’ उनले भने, ‘केन्द्रले पनि हुन्छ भनेको छ । हामीले पाउनेमा ढुक्क छौँ ।’