कता गयो प्रधानमन्त्रीले उद्घाटन गरेको बिजुली बस ?

होमल्याण्ड खबर

२०७५ कार्तिक २९ गते, बिहीबार १५:०५ मा प्रकाशित

महिना पुरा भैसक्यो उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ सडकमा देखा परेका छैनन् । सबै बस ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे अनि काठमाडौंमा नै थन्किए ।

उक्त बसहरु एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको थियो । तर, लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएको कारण सञ्चालनमा ल्याउन नसकिएकोले यतिकै थन्किएको बताइएको छ ।

उद्घाटनका दिन प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रविन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, लगायत उच्च पदस्थ सरकारी व्यक्तिहरुले पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ चढेका थिए ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गरेका थिए । यसरी जनताको बिदेशले सहयोग गरेको बस्तुलाई सस्तो लोकप्रियताका लागि मात्र देखाउने तर जनताको सेवामा नल्याउनुले कस्तो प्रभाव पर्ला यो सरकारले बुझ्नु जरुरी छ ।