१५ मंसिर २०८१, शनिबार
सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित पाँच सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
बराल दुई महिना पनि नपुग्दै विभागीय प्रमुखबाट हटाइएका हुन् । अर्थमन्त्री डा. प्रकाशरण महतले १९ माघ शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागको नेतृत्व दिने निर्णय गरेका थिए ।
त्यस्तै अर्थ मन्त्रालयका दुई सहसचिवलाई बाहिर पठाउँदै तीन सहसचिवलाई अर्थ भित्र्याइएको छ । जसअनुसार महानिर्देशक बराललाई वन तथा वातावरण मन्त्रालय र अर्जुन प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
यता अर्थमा सरुवा भएका सहसचिवहरूमा ढुण्डी प्रसाद निरौला, शिव लाल तिवारी र नारायण प्रसाद सापकोटा रहेका छन् ।