१५ मंसिर २०८१, शनिबार
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको पनि जानकारी दिए । उनले पाँच वर्ष माथिका मुद्दाहरू छिटो फर्छ्यौट गर्ने प्रक्रियामा रहेको बताए ।
“पाँच वर्ष नाघेका मुद्दालाई विशेष अभियान चलाएर निश्चित रूपमा कानुनी बाटो अपनाइ छिटो फर्छ्यौट गर्न प्रतिबद्ध छौँ,” प्रधान न्यायाधीश श्रेष्ठले भने, “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरू छन्, ती मुद्दाहरूलाई मुद्दा व्यवस्थापन पद्धतिबाट न्यूनीकरण गर्न थालिएको छ ।” ती मुद्दाहरूको व्यवस्थापन नगरेको भए ठूलो सङ्ख्यामा मुद्दा बाँकी रहने उनको भनाइ थियो ।
आफू सर्वोच्चमा आउनु अघिका मुद्दाहरू विभिन्न कारणले फर्छ्यौट हुन बाँकी रहेको उनले बताए। मुद्दा फैसला आजको भोलि भनेजस्तो नहुने भएकोले फैसलाको प्रक्रिया र कानुनी कुरामा भर पर्ने उनको भनाइ छ । सर्वोच्च अदालतको सुधारको प्रक्रियामा लागेको उनले दाबी गरे । पछिल्लो समयमा बनेका कतिपय कानुनका कारण देशभरका अदालतमा मुद्दाको सङ्ख्या बढेको उनले स्पष्ट पारे ।
अदालतले गरेको काम कारबाही तुलनात्मक रूपमा अहिले व्यवस्थित विधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा मुद्दा फैसला भइरहेको उनले जानकारी दिए । अदालतहरूमा कर्मचारी र न्यायाधीशहरूको व्यवस्थापनको चापअनुसार भइरहेको उनको भनाइ थियो ।
जीर्ण भएका अदालतहरूलाई नयाँ बनाउनका लागि सरकारसँग पहल भइरहेकाले सबैको सहयोग र समन्वयबाट यी काम पूरा हुने प्रधान न्यायाधीश श्रेष्ठले विश्वास व्यक्त गरे ।