३ मंसिर २०८१, सोमबार
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो ।
कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने तयारी गरेका छन् । महरा रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित हुन् । उनी यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।
माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट सर्कुलेसन आएकाले आफूहरू नयाँ सरकार बनाउन आन्तरिक छलफलमा रहेका राताेपाटीलाई बताए । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् ।
यसैगरी नेकपा एमालेले कर्णाली, कोशी, गण्डकी प्रदेशमा सरकारको नेतृत्व गर्नेछ। मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउने गरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिए ।
माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि लुम्बिनी कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनबाट माओवादीसहित नेकपा एमाले, जसपा, नेकपा एस र एक जना ‘माओवादीनिकट’ स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ ।
नयाँ गठबन्धन दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने हालसम्म अनिर्णीत छ ।