गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : दोषी नभए छानबिन समिति बनाउन किन अप्ठ्यारो ?

होमल्याण्ड खबर

२०८० चैत्र २६ गते, सोमबार १२:०७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने उनले स्पष्ट पारे ।

उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे । उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? भन्ने प्रश्न गरे । उनले कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्ने बताए ।

उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो भन्ने कुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ ।’

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।