निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन : अध्यक्ष लिङदेन

होमल्याण्ड खबर

२०८० चैत्र २८ गते, बुधबार ११:३९ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म र सरकारमा बस्नेहरूको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए ।

उनले सरकारले बनाउने ऐन, कानुनहरू निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । उनले ऐन, कानुन लगानीमैत्री नभए जतिसुकै ठूलो लगानी गरेर पनि लगानीकर्ताहरू नेपालमा नआउने जिकिर गरे ।

उनले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरू कार्यान्वयन हुन नसकेको बताए । अध्यक्ष लिङदेनले देश लगानीकर्ताहरूलाई आह्वान गर्न तयार छ कि छैन भन्ने प्रश्न गरे । अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए ।

उनले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताए । उनले सबै राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरूसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्न आग्रह गरे ।