बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

होमल्याण्ड खबर

२०८१ बैशाख ९ गते, आईतवार १३:४५ मा प्रकाशित

गोरखाको चुमनुव्री १ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरो गएका कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बुढीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह गरिएको छ ।

बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बगेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको छ ।

नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।