२ मंसिर २०८१, आईतवार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेले नेकपा स्थापनाको ७५औँ वर्ष गाँठको अवसरमा आयोजना गर्ने हीरक महोत्सवमा नजाने भएका छन् ।
एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ । अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।
गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दैछ । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई निम्ता गरिएको हो । तर, कार्यक्रममा अध्यक्ष नेपाल नजाने भएका हुन् ।
अध्यक्ष नेपालको अरु कार्यक्रम भएको जान नभ्याएको उनको सचिवालयले जनाएको छ । तर, स्रोतका अनुसार, जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्यो उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित नभएको भन्दै अध्यक्ष नेपालले नजाने निर्णय गरेका हुन् । सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ ।