२ मंसिर २०८१, आईतवार
बझाङमा प्रदेशसभा (१) को उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । मतगणना सकिएपनि निर्वाचन आयोगले मतपरिणाम औपचारिक घोषणा गरेको छैन ।
उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिकरूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो । उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।