ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

होमल्याण्ड खबर

२०८१ जेष्ठ ६ गते, आईतवार १४:२२ मा प्रकाशित

ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।

उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।