११ मंसिर २०८१, मंगलवार
दशैं तिहार र छठ पर्व सकिएसँगै बजारमा चिनीको भाउ मनलागी बढाइएको छ । चाडपर्वको बेला सहुलियतमा चिनी बिक्री गरेका चेन बिजिनेश कर्पोरेटहरुले, चाडबाड सहिएसँगै दैनिक उपभोग्य बस्तु चिनीको भाउ ह्वात्तै बढाएका हुन् ।
दशैं तिहार र छठसम्म किलोको ४९ रुपैयाँमै चिनी बिक्री गरेको सेलवेज सुपरमार्केटले, छठ लगत्तै प्रतिकिलो चिनीको मूल्य ७८ रुपैयाँ र्पुयाएको छ। महाराजंगस्थित सेलवेज डिपार्टमेन्टका एकजना कर्मचारी अभिषेकले (थर र पद बताउन चोहनन्), चाड पर्वको बेला घाटा सहेरै उपभोक्तालाई राहत दिइएको र त्यो अफर अब सकिएको बताए। उनले भने, ‘हामी ब्राण्डेड चिनी बेच्छौं, बोरा सोराको होइन, अहिलेको मूल्यमा पनि हामीलाई खासै फाइदा छैन’।
प्रायजसो साल्ट ट्रेडिङको चिनी बेच्दै आएको सेलवेजले अहिले उपकार ब्राण्डको चिनी बेच्दै आएको छ । उनले भने, ‘अहिले साल्ट ट्रेडिङको नपाएर हो, त्यसको मूल्य पनि यस्तै पर्छ’। मुलुकभर ११ वटा स्टोर खोलेको भाटभटेनी सुपरमार्केटले पनि चाडपर्वमा किलोको ५९ रुपैयाँमा चिनी बेच्ने गरेको थियो। हाल भाटभटेनीले चिनीको मूल्य ६९ रुपैयाँ र्पुयाएको, भाटभटेनी महाराजंगकी कर्मचारी सिर्जना (थर, पद बताउने चलन छैन रे) ले जानकारी दिइन्। उनले पनि सेलवेजकै अभिषेकको भाषा बोलिन्। हाल राजधानीका बजारमा खुद्रा ब्यापारीले भने किलोको ७० रुपैयाँदेखि ७५, ८० रुपैयाँसम्म (ठाउँ हेरिकन ) लिने गरेका छन्।
सङ्घीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दशैंअघि नै ६३ रुपैयाँमा चिनी बेच्ने वातावरण बनाउन सरकारलाई भन्दै आएको थियो। तर सरकारले लेखा समितिको निर्देशन कार्यान्वयन गर्न सकेन। लेखा समितिले, बजारमा चिनीको मूल्य बृद्धि गराउन ठूलो आर्थिक चलखेल भएको भन्दै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकले, चिनी लगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन स्वीकृत गर्दै, चिनीको भाउ उकास्न ठूलै चलखेल भएको ठहर सहित छानबिन गर्न अख्तियारलाई निर्देशन दिने निर्णय गरेको, समिति संयोजक भतरकुमार शाहले जानकारी दिए ।
समितिको गत असोज १८ गतेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले, विस्तृत छानबिनका अख्तियारलाई निर्देशन दिन सिफारिस गरेको थियो। समितिले दशैँअघिनै चिनीको मूल्य ६३ रुपैयाँ कायम गराउन निर्देशन दिएको थियो। दशैंअघिकै संसद बैठकमा नेकपाका एकजना सांसद बिरोध खतिवडाले चिनीको चास्नीमा कोको लुटपुटिएका छन्? भन्दै छानबिनको माग गरेका थिए ।