८ मंसिर २०८१, शनिबार
टी-२० विश्वकपको रोमाञ्चक ‘लो स्कोरिङ’ खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्दै महत्त्वपूर्ण २ अंक हासिल गरेको छ।
सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै १ सय ९ रनको कमजोर स्कोर बनाएको थियो। जवाफमा नामिबिया पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रनमै समेटिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
रोमाञ्चक रुपमा खेल सुपर ओभरमा पुगेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ६ बलमा २१ रन बनाएको थियो। उसका लागि डेभिड वाइसले ४ बल खेल्दै १ चौका र १ छक्काको सहयोगमा १३ रन बनाउँदा कप्तान जेरहार्ड एरासमसले २ बलमा २ चौका प्रहार गर्दै ८ रन बनाए।
जवाफमा ओमान भने ६ बलमा १ विकेट गुमाएर १० रनमा समेटियो। ओमानका लागि अकिब इलियसले ७ रन बनाउनु बाहेक ओपनरहरू नसिम खुसी र जेसन मसुद भने चल्न सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानका लागि खालीद काइलले ३४ रन बनाउँदा जेसन मसुदले २२ रन बनाए। थप दोहोरो स्कोरक रूपमा आयान खानको १५ रन र सकिल अहमेदको ११ रन रह्यो।
ओमानलाई सस्तैमा समेट्ने क्रममा रुवेन ट्रम्पेलम्यानले ४ विकेट लिँदा डेभिड वाइसले ३ विकेट लिए। त्यस्तै जेरहार्ड एरासमसले २ विकेट लिँदा बर्नार्ड स्कल्जले १ विकेट हात पारे।
१ सय १० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको नामिबिया दबाबपूर्ण प्रदर्शन गरेको थियो। उसका लागि जन फ्रयालिन्कले ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक निकोलस डेभिनले २४ रन र कप्तान जेरहार्ड एरासमसले १३ रन बनाउनु दोहोरो स्कोरका रूपमा रह्यो। डेभिड वाइस ९ रनमा नटआउट रहँदा मलान कुर्गरले १ रन बनाएर अविजित रहे।
नामिबियाविरुद्ध कसिलो बलिङ गर्ने क्रममा मेहरान खानले ३ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिएका थिए।
विश्वकपअन्तर्गत आज हुने दोस्रो खेलमा नेपालको समूहमा रहेको श्रीलंका र दक्षिण अफ्रिका न्युयोर्कमा प्रतिस्पर्धा गर्दैछन्।