१३ मंसिर २०८१, बिहीबार
सुनसरीको दुहबीका महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा स्थानीयले आज पनि प्रदर्शन जारी राखेका छन् ।
जयबाबा इँटा उद्योगका सुपरभाइजर समेत रहेका हुसेनको हत्यामा संलग्नलाई तत्काल सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन जारी राखेका हुन् ।
स्थानीयले धरान–विराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकखण्डको ठाउँठाउँमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् ।
हिजो बिहान मर्निङवाकमा गएको समयमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका थिए । छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।