९ मंसिर २०८१, आईतवार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।
अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्याल, केही बहालवाला सहसचिव, तथा ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर हुन लागेको हो ।
अख्तियारको टोली विशेष अदालतमा पुगिसकेको छ ।
९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।
छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव (हाल मुख्यसचिव) अर्याललगायत संलग्नता पुष्टि भएको जिकिर अख्तियारको छ ।