९ मंसिर २०८१, आईतवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६०.७१६ किलो सुन तस्कर गर्ने गिरोहसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
बाँकी तीनजनाविरुद्ध धरौटी माग गरिएको छ। तर, धरौटी रकम बुझाउन नसक्दा उनीहरू पनि कारागार चलान भएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयले गत २३ असारमा तस्करीमा जोडिएका ६० जनाविरुद्ध ६ खर्ब ९१ अर्ब ५६ करोड रुपैयाँको बिगोदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा अदालतले पक्राउमध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो भने तीनविरुद्ध धरौटी माग गरेको हो।
जिल्ला अदालत काठमाडौंका अनुसार पक्राउ परेकामध्ये ५२ वर्षीय राजु थापा भनिने प्रेमनाथ सेढाईविरुद्ध ५६ लाख, ४४ वर्षीय थर्कमान लामा भनिने कान्छा लामासँग ९६ लाख र ४३ वर्षीय मनोजराज श्रेष्ठविरुद्ध ९६ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, धरौटी रकम बुझाउन नसक्दा उनीहरू पनि कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले सुन तस्करीमा पक्राउ परेका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएको र बाँकी तीनविरुद्ध धरौटी माग भएको बताए।
उनले भने, ‘सुन तस्करीसँग सम्बन्धित मुद्दाको थुनछेक बहस बुधबार सकियो। बहसपछि १६ प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ भने बाँकी तीनविरुद्ध धरौटी रकम माग भएको छ। तर, उनीहरूले धरौटी रकम पेस गर्न सकेनन्। उनीहरू पनि कारागार नै चलान भएका छन् ।’