अर्जेन्टिनाका लागि दशौं अन्तर्राष्ट्रिय फाइनल खेल्दै मेसी

होमल्याण्ड खबर

२०८१ असार ३१ गते, आईतवार १४:१६ मा प्रकाशित

अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि रक्षाका लागि फाइनलमा कोलम्बियासँग खेल्दैछ । टिमका कप्तानसमेत रहेका अर्जेन्टाइन सुपरस्टार फुटबलर लिओनल मेसीले आफ्नो राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दशौं फाइनल खेल्दैछ ।

साविक विजेतासमेत रहेको अर्जेन्टिना लगातार दोस्रो पटक कोपा जित्ने लक्ष्यमा छ । मेसी सम्मिलित अर्जेन्टिनाले सन् २०२१ मा २८ वर्षपछि कोपा अमेरिका जितेको थियो ।

२३ वर्षपछि पहिलो पटक फाइनल पुगेको कोलम्बिया भने दोस्रो पटक कोपा उचालने दाउमा छ । कोलम्बिया यसअघि सन् २००१ मा एकपटक मात्रै कोपा जितेको छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल मायामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान ६:१५ बजे सुरु हुनेछ ।

मेसीले यसअघि अर्जेन्टिनाका लागि फिफा विश्वकप, कोपा अमेरिका, ओलम्पिक, यू-२० विश्वकप गरी ९ पटक फाइनल खेलेका छन् । जसमा ५ पटक उनले फाइनल जितेका छन् भने ४ पटक पराजित भएका छन् । यस्तै उनले फाइनलमा ४ गोल गर्दा ४ असिस्ट समेत गरेका छन् ।