अर्जेन्टिनालाई कीर्तिमानी १६औँ कोपा अमेरिकाको उपाधि

होमल्याण्ड खबर

२०८१ असार ३२ गते, सोमबार १०:४८ मा प्रकाशित

अतिरिक्त समयमा मैदान प्रवेश गरेका लौटारो मार्टिनेज निर्णायक बनेपछि फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

यो उपाधिसँगै अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिम बनेको छ । अर्जेन्टिनाले १६औँ उपाधि जितेको हो । १५औँ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ ।

सोमबार अमेरिकाको हार्ड रक रंगशालामा मार्टिनेजले ११२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा अर्जेन्टिना लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

मार्टिनेज ९७औँ मिनेटमा हुलियन आल्भारेजको स्थानमा मैदान प्रवेश गरेका थिए । ६६औँ मिनेटमा नियमित कप्तान लियोनल मेसीले खुट्टामा चोटको कारण मैदान छोडेपछि अर्जेन्टिनाको नेतृत्व एन्जल डी मारियाले गरेका थिए । मैदान छोड्दा मेसी भावुक बनेका थिए ।

११७औँ मिनेटमा मैदान छोडेका डी मारियाको अर्जेन्टिनी टिमबाट यो अन्तिम अन्तर्राष्ट्रिय खेल समेत हो । उनले यसअघि नै कोपा अमेरिकापछि सन्न्यासको घोषणा गरिसकेका थिए ।

अर्जेन्टिना विश्व फुटबलमा लगातार तीन मुख्य उपाधि जित्ने दोस्रो टिम समेत बनेको छ । अर्जेन्टिनाअघि स्पेनले सन् २००८ को युरोपियन च्याम्पियनसिप, २०१० को फिफा विश्वकप र २०१२ को पुनः युरोपियन च्याम्पियनसिपको उपाधि जित्दै यो कीर्तिमान बनाएको थियो ।

२३ वर्षपछि फाइनलमा प्रवेश गरेको कोलम्बियाले भने उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो । सन् २००१ मा फाइनलमा प्रवेश गरेको कोलम्बियाले उक्त संस्करणको उपाधि समेत जितेको थियो ।