त्रिशुली दुर्घटना : वेपत्तामध्ये १५ जनाको शव भेटियो, ४७ जना अझै वेपत्ता

होमल्याण्ड खबर

२०८१ श्रावण १ गते, मंगलवार १२:०१ मा प्रकाशित

मुग्लिन–नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा वेपत्ता भएका यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । आज (साउन १ गते) थप एक जनाको शव भेटिएसँगै मृत्यु हुने यात्रुको संख्या १५ पुगेको हो ।

सशस्त्र प्रहरी बलले दिएको विवरणअनुसार खोजीका क्रममा आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा थप एउटा पुरुषको शव फेला परेको हो । उनको पहिचान खुलिसकेको छैन ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए ।

तीमध्ये तीन जना पौडिएर बँच्न सफल भए भने बाँकी ६२ जना बेपत्ता थिए । तीमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका हुन् । अब अझै ४७ जना भेटिन बाँकी छन् ।