पाल्पामा ७४ जनामा डेंगु संक्रमण

होमल्याण्ड खबर

२०८१ श्रावण ६ गते, आईतवार १०:४५ मा प्रकाशित

पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाभित्रका ४२ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना गरी सो संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

पाल्पाको हकमा संक्रमितमध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका र कम संक्रमित तिनाउ गाउँपालिकाका रहेका छन् । यो वर्ष असार महिना लागेपछि सबैभन्दा धेरैमा संक्रमण देखिएको  स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।

जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन स्वास्थ्य कार्यालयले परिपत्र गरेको छ । डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।