हैजा नियन्त्रणका लागि के गर्दैछ स्वास्थ्य मन्त्रालयले ?

होमल्याण्ड खबर

२०८१ श्रावण २३ गते, बुधबार ११:०० मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रमा विभिन्न कार्य गरिरहेको जनाएको छ ।

प्रभावित क्षेत्रहरूमा नियमित अनुसन्धान, बिरामीको खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालनसमेत गरेको जनाएको छ ।

देशभरका १४४ अस्पतालमा झाडापखालाका बिरामीको नियमित रूपमा हैजाको निगरानी भइरहेको मन्त्रालयको भनाइ छ । Pजिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले एउटै टोलबाट एक हप्ताभित्रमा ५ जनाभन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ ।

गोदावरी नगरपालिकामा, पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि पानी शुद्धीकरण गर्ने पदार्थ सहयोग गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ललितपुर महानगरपालिकामा हैजा सङ्क्रमण पत्ता लागेपछि समुदायका सदस्यहरूलाई हात सफाइ र पानीको गुणस्तर परीक्षण सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।