प्रहरीको ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर

होमल्याण्ड खबर

२०८१ भाद्र ६ गते, बिहीबार १२:०३ मा प्रकाशित

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले आज बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका छन्। उमेर बाँकी नै रहँदा ३० वर्ष सेवा अवधिका कारण अवकासमा हुने भएपछि अदालत जानुपरेको रिट लैजाने प्रहरी अधिकृतले बताए।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न तथा रिटको टुंगो नलाग्दासम्म ३० वर्षे व्यवस्था लागू नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर भएको जानकारी दिए।