अविरल वर्षासँगै कर्णाली, महाकाली र बबईले खतराको तह पार पर्यो

होमल्याण्ड खबर

२०८१ भाद्र २८ गते, शुक्रबार ११:०१ मा प्रकाशित

अविरल वर्षासँगै पश्चिम नेपालका ठूला नदीहरुमा बाढीले खतराको तह पार गरेको छ । महाकाली, कर्णाली र बबई नदीमा बाढीले खतराको तह पार गरेको हो ।

बिहान ९ः १५ बजे डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर हो ।

यसैगरी कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ४.२ मिटर पुगेको छ । त्यहाँ बाढीको सतह ४ मिटर पुगेपछि खतराको तह मानिन्छ । दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैगरी महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ । त्यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ । बिहान ९ः १५ बजे महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.३२ मिटर पुगेको छ ।

यसैगरी बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ७.२ मिटर पुगेको छ । यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ । नदीको बहाव बढ्दो रहेकोले ती नदी तटीय क्षेत्रमा दिउँसो २ बजेसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।