२१ भाद्र २०८३, आईतवार
शेयर बजार परिसूचक नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६३७ अंकको हाराहारीमा आइपुगेको छ। एक महीनादेखि गत बुधबारसम्म लगातार घटेको बजारमा बिहीबार सुधार देखिएको थियो। तर, त्यो वृद्धि आइतबार कायम हुन सकेन।
आइतबार सबै उपसमूहका सूचकहरू ओरालो झरे। कारोबार भएकामध्ये २१७ कम्पनीको शेयर मूल्य घटेको छ। शेयर मूल्य बढ्ने कम्पनीको संख्या २५ मात्रै छ। थ्री स्टार हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशत हाराहारीमा घटेको छ।


लामो समय शिथिल शेयर बजार नयाँ सरकारको गठनसँगै उकालो लागेर नेप्से परिसूचक तीन हजार अंकको आसपास पुगेको थियो। तर, त्यो वृद्धि पछिल्लो एक महीनादेखि ओरालो दिशामा छ।
आइतबार १० अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, सीईडीबी हाइड्रोपावरको सर्वाधिक ६४ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो।
बजार घटेसँगै बजार पूँजीकरण अर्थात् सूचिकृत शेयरको कुल मूल्य पनि ४१ खर्ब ९४ अर्ब रुपैयाँमा ओर्लिएको छ। एक महीनाअघि बजार उच्च विन्दुमा पुगेका बेला बजार पूँजीकरण ४७ खर्ब रुपैयाँ नाघेको थियो।