३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि ठगी‚ किर्ते‚ सहकारी‚ फौजदारीसम्बन्धी कानुन आकर्षित हुने बताएका छन् । उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए ।
बुधबार पार्टी कार्यालयमा बोल्दै उनले गोरखा मिडिया नेटवर्कमा ‘एउटा हैन ४‚५ वटा सहकारीबाट लाखमा होइन करोडौँ रुपैयाँ आएको छ भन्ने समितिले भेटाएको’ उल्लेख गरे ।
महामन्त्री थापाले सहकारी सदस्य नभए पनि लामिछानेले ठुलो रकम हिनामिना गरेको बताए । ‘समितिले एक रुपैयाँ लाने कुरा पनि कानुनी बाटोबाट होइन गैरकानुनी बाटोबाट लगिएको हो भनेर लेख्यो‚’ महामन्त्री थापाले भने ।
उनले समितिले प्रतिवेदनमा नाम किटेरै रवि लामिछानेलाई कारबाही गर भनेर निर्देशन दिएको उल्लेख गरे । साथै उनले प्रतिवेदन पश्चात् रविको केसमा तीन कानुन आकर्षित हुने बताए ।
‘पहिलो सहकारी कानुनको दफा १२२ अनुसार सहकारी ठग्नेलाई कारबाही हुने । दोस्रो संगठीत अपराध सम्बन्धी कानुन हो । यसभित्र मुलुकी अपराध संहिताको दफा ३० अनुसार कारबाही हुने रहेछ‚’ उनले भने‚‘ठगी पनि छ‚ किर्ते पनि छ‚ सहकारी पनि छ‚ फौजदारी पनि छ यति धेरै भएकाले प्रचलित कानुन अनुसार कारबाही गर्नु भनेर लेखिएको रहेछ ।’
महामन्त्री थापाले गोरखा मिडिया नेटवर्क सञ्चालनमा आएकै दिन एक रुपैयाँ खल्तीको लगानी नगरी सहकारी किर्ते गरेर रकम अपचलन गरिएको समितिको प्रतिवेदनमा उल्लेख भएको बताए ।
‘सहकारीमा बसेर ठग्ने भन्दा पनि सहकारी नबसेर ठग्ने धेरै हुने रहेछन्‚’ उनले भने‚‘त्यसैले कानुनमै सहकारीमा नबस्ने तर ठग्ने ठग हो है भनेर लेखियो ।’