होमल्याण्ड खबर
२०८१ आश्विन १३ गते, आईतवार १६:५१ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगै राज्य संयन्त्र सहकारीको मुद्दा र रवि लामिछानेमाथि केन्द्रित हुँदा प्राकृतिक प्रकोपको सामना गर्न नसकिएको निस्कर्ष निकालेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले दुई दिनको पानीले दुईतिहाइको औकात देखाइदिएको टिप्पणी गरे ।
झाले पत्रकारहरुसँग भने, ‘सहकारीको विषयमा हामीले पटक-पटक धेरै चर्चा गरिसक्यौं । देश र राजनीति योभन्दा अघि बढे हुन्थ्यो भन्ने हाम्रो धारणा हो । सबै यसैमा अड्किँदाखेरिको मूल्य के हुन्छ भन्ने हामीले देख्यौं ।
सरकार, गठबन्धन, गठबन्धन आवद्ध दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति यही तीन खम्वामा अड्किएको थियो- रास्वपा, रवि र सहकारी । योबाहेक अरु कसैले केही सोचिराखेको थिएन । प्राकृतिक विपत्तिका लागि कोही तयारै थिएन । त्यसैको परिणामस्वरूप प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चुक्यो ।’
गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको कमजोरी स्वीकारेको उनले बताए । यसअघि गृहमन्त्री छँदा नै रवि लामिछानेले असोज १७ सम्म बाढी-पहिरोको जोखिम छ भनेर तयारीका लागि एउटा निर्णय गरेको झाले स्मरण गरे । तर, वर्तमान गठबन्धन सरकारले त्यसलाई निरन्तरता नदिएको उनको भनाइ थियो ।
गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो ।
तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो । पहिलो र दोस्रो दल बनेर जस्तो सुकै चुनौति पार लगाउन सक्ने भनिएको थियो । तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ । खोइ त तयारी ?’