९ मंसिर २०८१, आईतवार
पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ।
महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्।
आदेश पालना नगर्नेलाई कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ।
शहिदचोक र गैरापाटन आसपासको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । शहिदचोकदेखि वाइचोक, बैदाम फिस्टेलगेट, मालपोत कार्यालय कास्की र मुस्ताङचोकसम्म निषेधाज्ञा जारी भएको छ ।
त्यस्तै, गैरापाटन क्षेत्रको पालिखेचोकदेखि नवीन माविसम्म निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञा जारी भए पनि शहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले `रवि दाईलाई न्याय दे´ भन्दै नाराबाजी गरेका छन् ।