२९ कार्तिक २०८१, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । बालुवाटारमा आज ‘नेपाल संवत् न्हुदँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण-पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् ।
उनले भने, ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ, तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्नसक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’ इन्द्र जात्रा जस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धुनहरु रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे ।
सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे ।
उनले राष्ट्र बैंकबाट निष्कासन हुने नोटमा नेपाल संवत्काे पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवत्काे नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्काे प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यस वर्षको न्हुदँ नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमिस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ ।
समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएका छन् ।